कपा एमालेका अध्यक्ष केपी ओलीले पार्टी अफ्ठ्यारो अवस्थामा रहेको भन्दै तत्काल नेतृत्व छाड्ने अवस्था नभएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित पार्टीको संगठन विभागले आयोजना गरेको दुई दिने कार्यशालामा सहभागिहरुलाई सम्बोधन गर्दै ओलीले पुस ३ गते जस्तोसुकै अप्ठ्यारो अवस्थाको पनि सामना गर्नका लागि आफूलाई अध्यक्ष छानेको भन्दै तत्काल नेतृत्व नछाड्ने स्पस्ट पारेका हुन् ।
अनुकूल वातावरण बन्यो भने, प्रधानमन्त्री खान पाइने भो भने, कस्सिएर अगाडि बढ्नु र प्रधानमन्त्री खानु, अप्ठ्यारो अवस्था आयो भने झोला फ्याँकेर भागिहाल्नु भनेर आफुलाई अध्यक्ष नबनाइएको ओलीको भनाई छ । ‘जस्तोसुकै परिस्थिति आए पनि सङ्घर्षको नेतृत्व गर्नु, पार्टीको नेतृत्व गर्नु भनेको सङ्घर्षको नेतृत्व गर्नु हो । सङ्घर्षको नेतृत्व गर्नु, अप्ठ्यारो अवस्था आएकै छ, त्यस अप्ठ्यारो अवस्थाको पनि सामना गर्नका लागि तयारी गर्नु भनेर मलाई अध्यक्ष छानेको हो,’ उनले भने ।
उनले आफूले नेतृत्व छाड्छ भन्ने कुनै आशंका नराख्न आग्रह गरे । उनले थपे, ‘मैले बीचमै झोला फ्याँकेर अलपत्रै छोडेर हिँड्ने हो कि भन्ने, त्यो आशंका मनमा नलिनुहोला । म अप्ठ्यारो परिस्थितिसँग जुधेर, पार्टीलाई अगाडि बढाएर, पार्टीलाई सफलतामा पुर्याएर अनि विश्राम लिनुपर्ने अवस्थामा विधिसम्मत पार्टीका आफ्ना विधान, विधि, प्रक्रिया छन्, त्यसबमोजिम मैले विश्राम लिने स्थिति बन्छ ।’
पार्टी, आन्दोलन र देशलाई यस चुनौतीको सामना गर्दै अगाडि बढाउने संकल्प दृढ रहेको बताए । उनले विद्या भण्डारीले सदस्यता नवीकरणको लागि आवेदन दिएकाले अहिले दिएको बताए ।
उनले भने, ‘विद्या भण्डारीजीको कुरा अहिले पनि उठिराखेको छ । उठाउनै पर्दैन, उहाँ राष्ट्रपति भएका बेला सदस्य हुनुहुन्नथ्यो । नभएको सदस्यता नवीकरण हुँदैनथ्यो । अस्ति भर्खर उहाँले आवेदन दिनुभयो । आवेदन दिएपछि कमिटीले उहाँको सदस्यता दियो । यसमा भ्रम राख्नु पर्दैन ।’









प्रतिक्रिया