नेपाली कांग्रेसका सभापति गगन थापाले एमाले र नेकपासँग मिलेर विपक्षी गठबन्धन बनाउने पक्षमा कांग्रेस नरहेको बताएका छन्। कोशी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै पत्रपत्रिकाले आफैँले विश्लेषण गरेर समाचार लेखेको भन्दै असन्तुष्टि जनाए।
उनले भने, ‘कता–कता पत्रपत्रिकामा आइरहेको छ प्रतिपक्षमा बस्नेहरूको बीचमा गठबन्धन गर्नु पर्यो। अनि छापामा बसेका साथीहरूलाई बडो रमाइलो भएको छ। लेखिदिनुभएको छ समाचार कसैले लोकतान्त्रिक गठबन्धन, कसैले वाम गठबन्धन। बडो घरमा बस्यो, आनन्दले विश्लेषण गर्यो, मेरो विश्लेषण हो भनेर लेख्नुस् न, फ्याक्ट जस्तो गरेर ठोकिदिनुभएको छ बनाए त मैले बनाउने होला नि१ बन्दैन कुनै पनि गठबन्धन। आवश्यक पनि छैन, बन्ने पनि होइन।’
उनले कांग्रेस सङ्घमा प्रतिपक्षमा रहेकाले विषय अनुसारले एक ठाउँमा उभिनसकिने बताए।
उनले भने, ‘विषयवस्तु मिल्यो भने एक ठाउँमा उभिन्छौँ। संसद्मा अहिले प्रधानमन्त्रीजी नआउनुभएको कुरा संसद्को हितमा छैन, कानुन सम्मत छैन भन्ने कुरामा कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी सबैको कुरा एउटै छ, एक ठाउँमा छ। कांग्रेस यो कुरामा स्पष्ट छ। त्यस्तो कुनै अपोजिसन एलाइन्स बनाएर सरकारलाई घेराबन्दी गर्ने पक्षमा छैनौँ।’
संविधान सम्मत ढङ्गले ५ वर्ष सरकारले काम गर्न पाउनुपर्ने बताए। उनले भने, ‘सात वटा प्रदेशमा अहिले हामी सरकारमा छौँ। कांग्रेस र एमाले मिलेर सरकार चलाइरहेको अवस्था थियो। हामी अहिले कांग्रेस र एमाले मिलेर बनिरहेको सरकार भएको ठाउँमा प्रदेशको छुट्टै कुरा छ। हामी यो ठाउँमा अहिले धेरै चकचक गर्न चाहँदैनौँ। त्यसैपनि धेरै नागरिकहरू आजित भइरहेको बेलामा। हाम्रो प्राथमिकता डेलिभरीसँग हो।’
उनले मधेशमा विश्वासको मत पाउने अवस्था नभएपछि परिस्थिति फेरिएको बताए।उनले एमाले र नेकपासँग मिल्ने चर्चाबारे भने, ‘हाम्रा छलफल प्रदेशको सरकारको डेलिभरीका बारेमा छ। आवश्यकता अनुसार सरकारको नेतृत्वको बारेमा पनि कुरा भएको छ, हुन्छ। तर यो कुरालाई लिएर गएर जुन अनावश्यक चर्चा–परिचर्चा भएको छ, यी कुरा आवश्यक छैन।’
उनले आफूहरू अँध्यारोमा गएर कसैसँग भेटघाट नगर्ने बताए।
उनले थपे, ‘खुल्ला कुरा छ सङ्घमा हामी प्रतिपक्षमा छौँ। सङ्घमा हामी कुनै पनि प्रतिपक्षमा बस्नेहरू दलहरूका बीचमा संवाद आवश्यक छ, कुराकानी आवश्यक छ। कतिपय कुराहरूमा साझा कुरा बनाउन आवश्यक छ। तर त्यहाँ अहिले गठबन्धन गर्नुपर्ने, मिलाउनुपर्ने केही पनि छैन। निर्वाचनमा त कुनै पनि पार्टीले कुनै पनि पार्टीसँग गठबन्धन गर्नु हुँदैन भन्ने कुरा त निर्वाचनको कानुनमा लेख्नुपर्छ भन्ने वकालत गरेको पार्टी हो।’









प्रतिक्रिया