हुम्ला पहिरोले विद्यालय र बस्तीमा क्षति, संसदमा उठ्यो विषय

नेकपा (एमाले) की सांसद यशोदाकुमारी बरालले हुम्लाको चंखेली गाउँपालिकामा गएको भीषण पहिरोका पीडितलाई तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेकी छिन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद बरालले प्राकृतिक विपत्तिका कारण भएको क्षतिप्रति दुस्ख व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

चंखेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति गएको पहिरोले विद्यालय, बस्ती र खेतीपातीमा ठूलो क्षति पुर्‍याएको जानकारी दिइन् ।

प्राकृतिक विपत्तिको विषयका साथै सांसद बरालले सदनभित्र सांसदहरूले प्रयोग गर्ने भाषा र व्यवहारप्रति पनि आपत्ति जनाइन् ।

संसदको नियमावलीको नियम २१ (घ) मा उल्लेखित शिष्टताको पालना नभएको भन्दै उनले केही माननीय सदस्यहरूले पुराना राजनीतिक दलहरूप्रति अशिष्ट र अमानवीय व्यवहार गरिरहेको आरोप लगाइन् ।

‘भीषण पहिरोका कारण विद्यालय र गाउँबस्तीमा ठूलो क्षति पुगेको छ, सरकारले प्रभावित क्षेत्रमा छिटोभन्दा छिटो राहतको प्रवन्ध मिलाउनुपर्छ,’ उनले भनिन्, ‘सदनमा पुराना दलहरूले केही गरेनन् भन्दै ‘सदन गनायो’ जस्ता अमानवीय र अशिष्ट शब्दहरू प्रयोग भइरहेका छन् । यस्ता शब्दहरू तत्काल संसद्को रेकर्डबाट हटाइनुपर्छ ।’

सदनमा उपस्थित सबै २७५ जना सांसदहरू जनताको आवाज बोल्न आएका र सबैको हैसियत बराबर रहेको उल्लेख गर्दै उनले संसद् वादविवाद वा प्रतिष्पर्धा गर्ने थलो नभएको स्पष्ट पारिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार