दक्षिण कोरियाका पूर्व राष्ट्रपति योलकी पत्नी किमलाई चार वर्षको जेल सजाय

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योलकी पत्नी किम कियोन हीलाई भ्रष्टाचारसम्बन्धी अर्को मुद्दामा अदालतले चार वर्षको जेल सजाय सुनाएको छ ।

सियोल उच्च अदालतले किमलाई राजनीतिक लाभ दिलाउने वाचा बदलामा उपहार लिएको तथा शेयर मूल्य हेरफेरसम्बन्धी मुद्दामा दोषी ठहर गर्दै सजाय बढाएको हो ।

यसअघि जनवरीमा जिल्ला अदालतले उनलाई २० महिनाको जेल सजाय सुनाएको थियो । त्यतिबेला उनीमाथि युनिफिकेशन चर्चबाट महँगो उपहार लिएको आरोप लागेको थियो । ती उपहारमा ग्राफ कम्पनीको हीराको हार र च्यानल कम्पनीको ब्याग समावेश थिए । यद्यपि, त्यसबेला शेयर मूल्य हेरफेरसम्बन्धी एक मुद्दामा भने उनलाई सफाइ दिइएको थियो । पछि दुवै पक्षले उक्त फैसलाविरुद्ध पुनरावेदन गरेका थिए। त्यसपछि उच्च अदालतले अर्को च्यानल ब्याग लिएको तथा शेयर मूल्य हेरफेरमा पनि संलग्न रहेको ठहर गर्दै सजाय चार वर्ष पुर्‍याएको हो ।

अदालतले राष्ट्रपतिकी पत्नीका रूपमा किमले देशको प्रतिनिधित्व गर्ने र राष्ट्रपतिमाथि प्रभाव राख्ने भएकाले उच्च नैतिक जिम्मेवारी अपेक्षित हुने जनाएको छ। तर उनले आफ्नो प्रभाव प्रयोग गरेर उपहार लिएको भन्दै अदालतले त्यसलाई गम्भीर रूपमा लिएको छ ।

यसअघि उनका पति तथा पूर्व राष्ट्रपति युन सुक योललाई दुई महिनाअघि जबर्जस्ती सैनिक शासन लागू गरेको आरोपमा आजीवन कारावासको सजाय सुनाइएको थियो ।

सन् २०२४ डिसेम्बरमा युनले अचानक देशमा सैनिक शासन घोषणा गरेका थिए। उनले संसद भवनमा सेना र प्रहरी पठाउँदै ‘राष्ट्रविरोधी शक्ति’ र ‘उत्तर कोरिया समर्थक’लाई नियन्त्रण गर्न यस्तो कदम चालिएको बताएका थिए ।

तर त्यसपछि उनीविरुद्ध महाभियोग प्रक्रिया सुरु भई पदबाट हटाइएका थिए। अदालतले संसद नियन्त्रण गर्ने, राजनीतिक विरोधीलाई पक्राउ गर्ने र लामो समयसम्म निरंकुश शासन चलाउने प्रयास गरेको भन्दै उनलाई विद्रोहको नेतृत्व गरेको दोषी ठहर गरेको थियो।

अनुसन्धान टोलीले किमविरुद्ध १५ वर्ष जेल सजायको माग गरेको थियो। किम र स्वतन्त्र अनुसन्धान टोली दुवैलाई अब सर्वोच्च अदालतमा अपिल गर्न एक साताको समय दिइएको छ । किमका वकिलहरूले भने यो अनुसन्धान राजनीतिक उद्देश्यले प्रेरित भएको दाबी गरेका छन्।

किम गत वर्ष अगस्टदेखि जेलमा छन् । प्रमाण नष्ट गर्न सक्ने आशंकामा अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनी हिरासतमा राखिएकी थिइन् । राष्ट्रपतिको कार्यकालमा पनि उनी विभिन्न विवादमा तानिएकी थिइन्, जसका कारण युनको लोकप्रियतामा समेत असर परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार