हामीले उठाएका आशंका क्रमशः सही सावित हुँदैछन्- महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले छोटो समयमै सार्वजनिक भइरहेका घटनाक्रमले आफूहरूले उठाएका आशंका क्रमशः सही सावित हुँदै गएको बताएका छन् ।

बुधबार च्यासलमा आयोजित नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ षड्यन्त्रपूर्ण भएको दोहोर्याउदै सरकारमा छोटो समयमै सार्वजनिक भइरहेका घटनाक्रमले आफूहरूले उठाएका आशंका क्रमशः सही सावित हुँदै गएको बताएका हुन् ।

उनले भदौ २४ गते भएको तोडफोड र विध्वंस योजनाबद्ध रूपमा गरिएको बताउदै पार्टीले त्यसबारेको धारणा जनतामाझ प्रभावकारी रूपमा पुर्‍याउन नसक्दा अहिलेको परिणाम भोग्नुपरेको दाबि गरेका छन् ।

उनले हालको राजनीतिक परिस्थितिमा जनताको जनादेशलाई सम्मान गर्दै विजयी पक्षलाई बधाई दिएको उल्लेख गर्दै सरकारले जनताका भावना अनुसार काम गर्नुपर्ने बताए ।

पोखरेलले सुशासनको विषय उठाउँदै एमालेका नेता–कार्यकर्तामाथि लगाइएका आरोपबारे निष्पक्ष छानबिन हुनुपर्ने बताए । उनले लामो समय सत्तामा रहेका एमाले नेताहरूको मात्र होइन, अहिले सरकारमा रहेका नेताहरूको सम्पत्तिको पनि जाँचबुझ गर्नुपर्ने धारणा राखे ।

तथ्यले एमालेका नेता–कार्यकर्ता इमान्दार रहेको देखाउने दाबी गर्दै पार्टीलाई बदनाम गर्न सुनियोजित रूपमा गलत सूचना फैलाइएको महासचिव पोखरेलको दाबि छ । प्रविधिको दुरुपयोगमार्फत जनमत प्रभावित पारिँदा एमाले जनताबाट टाढिएको उनको निष्कर्ष छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार