चलचित्र विकास बोर्डले कलाकारहरुको नामबाट पछिल्लो समय सामाजिक सञ्जालमा ठगीका घटना बढेको भन्दै सचेत रहन सबै कलाकारहरुलाई आग्रह गरेको छ ।
शुक्रबार अभिनेता अनमोल केसीले आफ्नो नाम र तस्बिर प्रयोग गरेर नक्कली नम्बरबाट आफन्त र साथीहरूसँग पैसा मागिएको स्क्रिनसट सार्वजनिक गरेका थिए । अनमोलले यो घटना आफैँ जानकारी दिँदै कसैलाई पैसा नदिन र नम्बर ब्लक गर्न आग्रह गरेका थिए । त्यस्तै केकी अधिकारी, स्वस्तिमा खड्का, रिमा विश्वकर्मा, धिरज मगरसहितका कलाकारले आफ्नो नाम र फोटो दुरुपयोग गरेर रकम मागिएको गुनासो गरेका थिए । उनीहरूले सामाजिक सञ्जालमा फ्यान र आफन्तजनलाई सचेत रहन आग्रह गरेका थिए ।
यी घटनापछि बोर्डले सबै चलचित्रकर्मीलाई आफ्नो सामाजिक सञ्जालको पासवर्ड बलियो बनाउन र दुई चरणको प्रमाणीकरण अनिवार्य प्रयोग गर्न आग्रह गरेको छ ।
बोर्डले भनेको छ:
चलचित्र विकास बोर्डको जानकारीमा आए अनुसार पछिल्लो समय फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, ह्वाट्सएप लगायत सामाजिक सञ्जालमा कलाकार तथा चलचित्रकर्मीको तस्बिर प्रयोग गरी नक्कली आईडी बनाउने, वास्तविक आईडी ह्याक गर्ने र साथीभाई एवं शुभचिन्तकहरुसंग पैसा माग्ने ठगीका घटनाहरू बढिरहेका छन्।
चलचित्रकर्मीहरूले आफ्ना सबै सामाजिक सञ्जाल खातामा बलियो पासवर्ड र टू फ्याक्टर अथेन्टिकेसन अनिवार्य रूपमा प्रयोग गर्न अनुरोध गरिन्छ । कसैले कलाकार वा चलचित्रकर्मीको नाममा पैसा मागेमा, वास्तविक व्यक्ति हो भनी पुष्टि नगरी कुनै पनि रकम नपठाउनुहोस् । सचेत रहौँ, ठगीबाट जोगिऔँ ।













प्रतिक्रिया