अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूकुम (पश्चिम) स्थित त्रिभुवन जनता माध्यमिक विद्यालयमा आर्थिक अनियमितता भएको ठहर गर्दै ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमराज खड्का, प्रधानाध्यापक हरि प्रसाद खनालसहितका पदाधिकारीले सार्वजनिक सम्पत्तिमा हानि–नोक्सानी पुर्याउँदै रकम हिनामिना गरेका हुन् ।
आरोप दायर गरिएकामा विद्यालयका लेखापाल ठक बहादुर बुढाथोकी, कार्यालय सहायकद्वय रमा शाह र गौरी रावत केसी, मुसिकोट नगरपालिकाका शाखा अधिकृत बिनाराम खड्का र ऐ. कार्यालयका सूचना प्रविधि अधिकृत गोपाल ओली दाङ तुलसीपुर उप- महानगरपालिका, वडा नं. ६ बस्ने डिजिटल कम्प्युटर एण्ड इलेक्ट्रोनिक्स वर्ल्ड तुलसीपुर दाङका प्रोप्राइटर शिव प्रसाद श्रेष्ठ रहेका छन् ।
अनुसन्धानबाट आर्थिक वर्ष २०७८/७९ मा प्रविधिमैत्री कक्षा सञ्चालनका लागि खरिद गरिएको भनिएका सामग्री विद्यालयमा आपूर्ति नै नगरी करिब ४ लाख ८८ हजार रुपैयाँ भुक्तानी गरिएको खुलेको छ । साथै सूचना प्रविधिसम्बन्धी तालिम सञ्चालन नगरी झुट्टा बिल बनाएर थप २ लाख २० हजार रुपैयाँ खर्च देखाइएको पाइएको छ ।
यसैगरी विद्यालयको आन्तरिक आम्दानी तथा विद्यार्थीबाट उठाइएको शुल्कमध्ये ५४ हजारभन्दा बढी रकम बैंकमा दाखिला नगरिएको आरोप छ । अर्को तर्फ बेरुजु फर्छ्यौटका नाममा रकम निकालेर पुनः जम्मा गरी करिब २ लाख १२ हजार रुपैयाँ दुरुपयोग गरिएको र बिना प्रयोजन १ लाख रुपैयाँ निकालिएको पनि भेटिएको छ ।
समग्रमा करिब १० लाख ७५ हजार रुपैयाँभन्दा बढी रकम हिनामिना तथा दुरुपयोग भएको निष्कर्षसहित आयोगले सम्बन्धित कर्मचारी र पदाधिकारीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारबाहीको माग गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।








प्रतिक्रिया