न्युन पारिश्रमिक र सुविधाका कारण विदेश पलायन हुँदै नेपाली नर्सहरु

दुःख र मिहिनेतका साथ ठूलै खर्च गरेर नर्सिङ अध्ययन पुरा गरेका र न्युन पारिश्रमिकमा काम गर्दै आएका नर्सहरु धमाधम विदेश पलायन हुन थालेका छन् । केही दिन अघि मात्रै भेटिएकी राजधानीको नाम चलेकै अस्पतालमा नर्सिङसम्बन्धी काम गर्दै आएकी काभ्रेकी निर्मला अधिकारी वैदेशिक रोजगारीको लागि कुवेत जाने तयारी गरिरहेकी छिन् ।

उमेरले २५ नकाटेकी उनले राजधानीकै एउटा म्यानपावरबाट प्रक्रिया अघि बढाएको बताइन् । ‘यहाँ मासिक २० हजार रुपैयाँ तलब छ, त्यहाँ (कुवेतमा) नर्सहरुलाई १६० केडी (नेपाली रुपैयाँ ७० हजार) दिने भनेको छ, नेपालमा काम गरेर खान र लाउनसमेत पुग्ने अवस्था छैन, अब विदेश नै जाने हो,’ उनले भनिन् । नेपालमै बस्ने हो भने नर्सिङ पढ्दा लागेको खर्च उठाउन पनि हम्मेहम्मे पर्ने उनको भनाई छ ।

त्यस्तै भर्खरै नर्सिङ अध्ययन पुरा गरेर एक हस्पिटलमा इन्टर्नको काम गर्ने शर्मिला मगर (नाम परिवर्तन)ले पनि नेपालमा काम सिकेर विदेश नै जाने सोच बनाएको बताइन् । ‘विदेश जान पनि आईसीयू, इमरजेन्सी र प्रसूति वार्डहरूमा काम गरेको अनुभव नभई नहुने रहेछ,’ उनले भनिन्, ‘अब एक वर्ष जति यतै काम गर्छु अनि विदेश जाने हो ।’ नेपालमा काम गरे अनुसारको तलब, सुविधा केही नहुने सिनियर नर्सहरुले नै सुनाउने गरेको उनको भनाई छ । उनी सकभर अष्ट्रेलिया नभए वेलायत जाने सोचमा छिन् । ‘त्यहाँ नर्सको भविष्य राम्रो छ रे ! तलब पनि ५÷६ लाख हुन्छ भन्ने सुनेको छु,’ उनले सुनाइन् ।

नर्सिङ पेसामा लागेर काम अनुसारको सेवासुविधा नपाउँदा विदेशिने तयारी थालेका वा सोच बनाएका अधिकारी र मगर प्रतिनिधि पात्र मात्र हुन् । यहाँ त्यस्ता थुप्रै नर्सहरु छन् जो काम अनुसारको सेवा सुविधा नभएको भन्दै विदेश पलायन हुने तयारीमा छन् । ठूलो खर्च गरेर नर्सिङ अध्ययन पुरा गरी नेपालमै काम गर्छु भन्नेहरुलाई कठोर श्रम र न्यून पारिश्रमिकले गर्दा विदेशिन बाध्य बनाएको छ ।

दक्ष श्रमिकको वर्गमा पर्ने नर्सहरुलाई विदेशमा प्रसस्तै अवसर हुने भए पनि नेपालमा भने अझै वेरोजगार नै बस्नुपर्ने अवस्था रहेको नर्सिङ एशोसिएसन अफ नेपालकी अध्यक्ष मना कुमारी राइले बताइन् । ‘नर्सहरूले आफ्नो दक्षता, क्षमता र योग्यता अनुसारको तलब र सेवासुविधा पाउन सकेका छैनन्,’ उनले भनिन्, ‘सरकारी अस्पतालमा हुनेहरुले न्यूनतम तलब र सुविधाहरू पाइरहे पनि निजी अस्पतालमा काम गर्ने नर्सहरुको अवस्था दयनीय नै छ ।’ उनका अनुसार विगतमा अस्पतालहरुले नर्सलाई स्वयंसेवकका रूपमा काममा लगाउने गर्थे । अहिले त्यो व्यवस्था हटेपनि कतिपय ठाउँमा खाजा खर्च भन्दै ८/१० हजार दिएर काम लगाउने गरेको गुनासो सुनिएको छ । तर हामीले तलव पाएनौ वा थोरै पैसामा काम गर्नु प¥यो भन्दै निवेदन दिन भने कोही नआएको राईले बताइन् ।

त्यस्तै नर्सिङ पेशामा संलग्न नर्सहरु नेपालमा काम अनुसारको तलब र सेवा सुविधा भएन भन्दै विदेश जाने गरेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेल बताउँछन् । ‘यसले नेपालको दक्ष जनशक्ति विदेश पलायन हुने खतरा त छँदैंछ, अवसर र भविष्य पनि उतै देख्छन्,’ उनले भने, ‘जहाँ राम्रो आम्दानी हुन्छ, राम्रो भविष्य देख्छ मान्छे त्यतै आकर्षित हुन्छ ।’

नेपालमा महिनामा २० हजार तलब पाउन पनि गाह्रो रहेको भन्दै उनले विदेश जाने नर्सले मुलुक अनुसार मासिक एकलाखदेखि पाँच लाखसम्म कमाउने बताए । पछिल्लो समय नर्सहरुमा खर्च गरेर पढे अनुसारको आम्दानी हुनुपर्छ भन्ने मानसिकता पलाएका कारण विदेश जानेको संख्या बढीरहेको पनि भुर्तेलले बताए । उनका अनुसार नर्सहरु आफ्नो पेशामा मात्र नभई केयर गिभर÷केयर टेकरको रुपमा पनि जाने गरेका छन् ।

यसै साता न्युनतम पारिश्रमिक र सेवा सुविधसमेत नपाउँदा नर्सहरु विदेश पलायन हुने खतरा रहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसलाई आफुले गम्भिर ढंगले लिएको बताए थिए । गत मे १२ मा अन्तर्राष्ट्रिय नर्सिङ दिवसको सन्दर्भमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले प्राविधिक जनशक्तिले लामो समय ‘इन्टर्न’का रुपमा काम गर्नुपरेको र नर्सहरूको पारिश्रमिक अत्यन्त न्यून रहेकोबारे आफू जानकार रहेको बताएका थिए ।

वर्षौं काम गर्दासमेत नर्सिङ पढ्दाको खर्च उठाउन मुश्किल हुने समस्याहरू महसुस गरेको भन्दै उनले नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक सबै निजी अस्पताल, नर्सिङ होम र स्वास्थ्य केन्द्रमा लागु गराउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार