चालु आर्थिक वर्ष २०८०/८१ को दशौं महिना अर्थात् बैशाखमा वैदेशिक रोजगारीका लागि ७० हजारभन्दा बढी नेपाली विदेशिएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार बैशाख महिनामा ७० हजार ६३७ जना नेपाली नयाँ तथा पुनः श्रम स्वीकृति लिएर रोजगारीको लागि विदेशिएका हुन् ।
विभागको तथ्यांकअनुसार ९४ वटा मुलुकमा श्रम स्वीकृति लिएर नेपालीहरु रोजगारीका लागि गएका छन् । तुलनात्मक रुपमा गत चैत महिनामा विदेशिने र बैशाखमा विदेशिने नेपालीको संख्या हाराहारी रहेको छ । गत चैत महिनामा ७० हजार ९३३ जना विदेशिएका थिए । यसअघि गत फागुन महिनामा ६५ हजार ६५८ जनाले वैदेशिक रोजगारीको लागि श्रम स्वकिृति लिएका थिए ।
चालु आवको सुरुआती महिनादेखि नै चौथो स्थानमा रहेको मलेसिया यसपटक नेपालीहरुको पहिलो गन्तव्य बन्न सफल भएको । बैशाखमा मलेसिया जान १६ हजार ९४९ जनाले श्रम स्वीकृति लिएका छन् । मलेसियामा जान गत चैत महिनामा १२ हजार ६०२ जनाले श्रम स्वीकृति लिएका थिए । त्यस्तै चालु आवको सुरुआती देखि नै पहिलो गन्तव्य बनेको संयुक्त अरब इमिरेट्स (युएई) दोस्रो स्थानमा परेको छ । बैशाखमा युएई जान १६ हजार ५१२ जनाले श्रम स्वीकृति लिएका छन् ।
यसैगरी बैशाख महिनामा रोजगारीका लागि कतार जान ११ हजार १०७ जनाले श्रम स्वीकृति लिएका छन् । तेस्रो स्थानमा परेको कतार जाने नेपालीको संख्या प्रत्येक महिना हाराहारी नै रहेको विभागको तथ्यांकले देखाएको छ । यस्तै चौथो स्थानमा साउदी अरेबिया परेको छ । बैशाखमा श्रम स्वीकृति लिएर साउदी जाने नेपालीको संख्या ११ हजार ६१ रहेको छ ।
चालु आव सुरू भएयता कतार र साउदी जाने नेपालीको संख्या हराहारी जस्तो देखिए पनि युएई जाने संख्यामा भने उल्लेख्य वृद्धि भएको विभागको तथ्यांकले देखाएको छ । यसैगरी पाँचांै स्थानमा परेको कुवेतमा तीन हजार ३८७ जना नेपाली श्रमिक रोजगारीका लागि पुगेका छन् ।
कुवेत जाने श्रमिकहरुको संख्या पनि क्रमशः त्यस्तो धेरै उतारचढाव देखिएको छैन । उल्लिखित पाँच मुलुकले नै नेपालको वैदेशिक रोजगारीको ठूलो हिस्सा (झण्डै ८० प्रतिशतभन्दा बढी) ओगटेको विभागको तथ्यांकले देखाएको छ ।
यसैगरी क्रोएसिया एक हजार ७१०, जापान एक हजार २९८, रोमानिया एक हजार ८४, बहराइन ९३४, मोरिसस जान ८७०, माल्दिभ्स ५७३, साइप्रस ८४९ र ओमानका लागि ५५२ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै फागुन महिनामा इपिएस प्रणालीबाट दक्षिण कोरिया जाने नेपालीको संख्या ७७२ रहेको छ । विभागबाट कूल श्रम स्वीकृति लिनेमध्ये पुनः श्रम स्वीकृति लिने २५ हजार १७२ जना छन् भने पहिलोपटक विदेश जान श्रम स्वीकृति लिनेको संख्या ४० हजार ५५१ जना रहेका छन् ।
चालु आवको दशौं महिनामा श्रम स्वीकृति लिनेमध्ये छ हजार ६२७ जना महिला श्रमिक रहेको विभागले उल्लेख गरेको छ । पछिल्लो समय वैदेशिक रोजगारीका लागि युरोपेली मुलुकमा जान श्रम स्वीकृति लिने नेपालीको संख्या क्रमिक रुपमा बढ्दै गएकोसमेत विभागको तथ्यांकमा देखिन्छ ।
यसरी श्रम स्वकिृति लिएर जानेहरुमा उच्च दक्षता भएकादेखि अदक्ष श्रमिक रहेको विभागको विवरणमा उल्लेख छ । बैशाख महिनामा उच्च दक्षता हासिल गरेका ७० जना र पेशागत दक्षता भएका ३५४ जना नेपालीहरु श्रम स्वीकृति लिएर विदेशिएका छन् ।
वैदेशिक रोजगारीको क्रममा सबैभन्दा बढी दक्ष कामदार गएको विभागले जनाएको छ । यो संख्या ५२ हजार १७७ रहेको छ । यस्तै अर्धदक्ष कामदारको रुपमा ५ हजार ४२० बाहिरिएका छन् भने १२ हजार ६१६ अदक्ष कामदार बैशाख महिनामा विदेशिएका छन् ।







प्रतिक्रिया