काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, सुकुम्बासी बस्ती हटाएर खाली गराइएको सार्वजनिक जग्गाको संरक्षणका लागि काम थाल्न निर्देशन दिएकी छन् ।
थापाथलीस्थित वागमती नदी किनारामा शनिवार खाली गराइएको स्थानको निरीक्षण गर्दै उनले आइतबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई अहिले तथा यसपछि खाली गराइने ठाउँहरुको सुरक्षा र संरक्षणका लागि तारबार लगाउन अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिलगायत सरोकारवाला कार्यालयसँग समन्वय गर्न र सार्वजनिक निर्माण विभागबाट तारबार लगाउने काम थाल्न निर्देशन दिएकी हुन् ।
डंगोलले नागार्जुनको इचङ्गुस्थित कोलोनीको भौतिक अवस्थाको निरीक्षण गरेकी थिइन् । अव्यवस्थित बस्तीका वास्तविक भूमिहीनलाई यी भवनहरुमा राख्ने योजना छ ।
नदी किनाराका सार्वजनिक तथा सरकारी पर्ती जग्गामा अनधिकृत संरचना बनाएर राखिएका वस्ती खाली गराउने क्रममा वागमती नदी खण्डको थापाथली क्षेत्रको वस्ती बैशाख १२ गते खाली गराइ सकिएको छ । यसका लागि महानगरपालिकाभित्र भएका अनधिकृत वस्ती बसोबास गरिरहेका व्यक्ति आफैँलाई खाली गराउन विहीबारदेखि माइकिङ गरेर सूचित गरिएको थियो ।
यसरी जारी गरिएको सूचनाको पालना गर्दै शुक्रबार केही परिवारले आफैँ घर टहरा खाली गराएका थिए ।
वडा नं. ११ का अध्यक्ष एवं महानगरपालिकाको भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकारका अनुसार वडाभित्र थापाथली र वंशीघाट गरेर ३३२ वटा घरटहरा थिए । यसमध्ये थापाथलीतर्फका १३६ घरटहरा भत्काइएका छन् । यस ठाउँबाट सरेर अन्यत्र जानेहरुलाई महानगर प्रहरी बलले सवारी साधन र जनशक्ति परिचालन गरेर घरबाट बाहिर सामान निकाल्न र बाहिर निकालिएका सामान उनीहरुले भनेका ठाउँमा ओसार्न सहयोग गरेको थियो । यो प्रसुति गृह पछाडितर्फको भाग हो । वंशीघाट विश्व निकेतन विद्यालय पछाडि पर्छ । यहाँ १९६ घरटहरा छन् ।
वागमती नदी खण्डको सिनामंगलदेखि वानेश्वर क्याम्पससम्म रहेको अव्यवस्थित बस्ती अन्तर्गत वडा नं. ९ तर्फ १६२ घरधुरी र वडा नं. ३१ तर्फ दीर्घशान्ति टोल (जागृतिनगर) मा ४७६ घरटहरा थिए । यीमध्ये वैशाख १२ गते वडा नं. ९ तर्फका घरटहरा खाली गराइयो । वडा नं. ३१ तर्फ यस दिन राती ९ बजेसम्म भत्काउँदा केही भागको मात्र काम सकिएको थियो । १३ आइतबार गते विहान मनोहरा क्षेत्रमा जनशक्ति, स्रोत साधन केन्द्रीत गरिएको थियो ।
महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीका अनुसार मनोहरा क्षेत्रका अव्यवस्थित बस्ती भत्काउने क्रमसँग मध्यान्नबाट स्रोत साधन बाँडेर दिउँसो १ बजेदेखि वडा नं. ३१ जागृतिनगरका घरटहरा भत्काउन थालिएको थियो ।
आज जागृतिनगरसँगै मनोहरा नदी खण्डमा काठमाडौँ र मध्यपुर थिमितर्फ दुवैतर्फ काम भइरहेको छ ।
उपत्यका विकास प्राधिकरणका अनुसार महानगरपालिकाको वडा नं. १५ को स्वयम्भू वन परिक्रमा मार्गको नमूना टोलमा ४६ घरधुरी सार्वजनिक तथा पर्ती जग्गामा छन् । वडा नं. १६ को जागृति मार्गमा १२३ घरधुरी र वुद्धज्योतीमा ७६ घरधुरी छन् । महानगरपालिकाको चमती विकास आयोजनाका प्रमुख निर्मलराज बरालका अनुसार वनस्थलीबाट परिक्रमा मार्ग प्रवेश गर्दा गर्दै ५ घर सकुम्बासी बस्तीका रुपमा रहेको छ । प्राधिकरणको तथ्याङक अनुसार वडा नं. ३२ को जडीबुटी मिलन चोकमा ११४ घरधुरी, वडा नं. १४ को जागरण मार्गमा ४०१ घरधुरी, वडा नं. वडा नं. २९ अनामनगरमा २३ घरधुरी छन् ।
वडा नं. १० का अध्यक्ष एवं महानगरपालिकाको सामाजिक समितिका संयोजक रामकुमार के. सी. का अनुसार यस वडाको देवीनगर, विनायक नगर र शंखमुल गरी ३ ठाउँमा करिब २ सय ३० परिवार छन् । उनका अनुसार नदीको किनारामा सडक छ । सडकपछि वस्ती छ ।
वडा नं. ६ का सदस्य नरेन्द्रकुमार थापाका अनुसार वडाभित्रको रामहिटीमा १४८ घरधुरी, सुबिगाउँमा ४२, रेम्बोडाँडामा ९ घर, शान्तिनगरमा १४ घर, चुच्चेपाटीमा २२ घर र कुमारीगालमा ११ घरटहरा छन् ।
अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले २०७९ सालमा तयार पारेको प्रतिवेदन अनुसार उपत्यकाका नदी किनारमा ३ हजार ४९६ घरधुरी अव्यवस्थित बसोबासी छन् । समितिको प्रतिवेदनले, काठमाडौँ महानगरभित्र २ हजार २४५ घरधुरी, कागेश्वरी नगरपालिकामा ९०, बुढानीलकण्ठमा १५६, ललितपुर महानगरभित्र १७ र भक्तपुर नगरपालिकामा ७७३ अव्यवस्थित बसोबासी रहेको देखाएको छ ।
तीन वर्ष अन्तरालमा केही घर थपिएका हुन सक्छन् । यस आधारमा काठमाडौं उपत्यकामा झन्डै चार हजार अव्यवस्थित बसोबासी रहेको अनुमान छ ।











प्रतिक्रिया