नेकपा एमालेका सचिव महेश बस्नेतले अतिक्रमित सुकुम्बासी बस्ती खाली गराउने सरकारी निर्णयप्रति कडा प्रतिक्रिया दिदै सरकारको असली चरित्र नाङ्गो भएको टिप्पणी गरेका छन् ।
उनले सुरक्षा निकायका प्रमुखलाई बोलाएर प्रधानमन्त्री बालेन्द्र शाहले बस्ती खाली गराउन निर्देशन दिएको भन्दै यसले सरकारको वास्तविक चरित्र उजागर गरेको आरोप लगाए ।
बस्नेतले निर्वाचनअघि सुकुम्बासी बस्ती जोगाउने प्रतिबद्धता व्यक्त गरिएको स्मरण गराउँदै अहिलेको कदम त्यसकै विपरीत भएको बताए । उनले सुकुम्बासीलाई व्यवस्थापन गर्नुको साटो हटाउने नीति अपनाइएको भन्दै प्रश्न उठाएका छन् ।
उनले भनेका छन्- ‘ निर्वाचनको मुखमा उहाँकै दलका सभापति रवि लामिछानेले “सुकुम्बासी बस्तीमा डोजर आयो भने म छाती थाप्छु” भनेर ठूलो भाषण दिदै प्रतिवद्धता जायर गर्नुभएको थियो । आज त्यो प्रतिबद्धता कहाँ गयो ? जनतालाई भ्रममा राख्ने भाषणमा मात्रै सिमित हो त ?’
उनका अनुसार सडक विस्तार र फुटपाथ व्यवस्थापनका नाममा साना व्यवसायी र स्थानीयवासीमाथि अन्याय भइरहेको छ । साथै, भन्सारमा कडाइ गर्दा गरिब वर्ग थप मारमा परेको उनले उल्लेख गरे ।
सरकारका पछिल्ला निर्णयहरूले लोकतान्त्रिक अभ्यास कमजोर बनाउँदै अधिनायकवादी शैलीतर्फ उन्मुख भएको आरोप लगाउँदै उनले यस्तो नीति जनविरोधी भएको टिप्पणी गरे । उनले जनताले यस्ता कदम लामो समयसम्म सहेर नबस्ने चेतावनी समेत दिएका छन् ।








प्रतिक्रिया