आगामी सोमबारबाट पुरै तौलको ग्यास सिलिन्डर बेच्ने व्यवसायीको निर्णय

सरकारले खाना पकाउने एलपीजी ग्यासको अभाव टार्न ‘आधा सिलिन्डर’ मात्रै वितरण गर्दै आएकोमा व्यवसायीहरुले आगामी सोमबारदेखि पुरै तौलको ग्यास वितरण गर्ने निर्णय गरेका छन् ।

ग्यास विक्रेता महासंघ र नेपाल एलपी ग्यास उद्योग संघबीच मंगलबार भएको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

यो निर्णयसँगै ग्यास व्यवसायीले सरकारको औपचारिक निर्णय नहुँदै उपभोक्तालाई १४.२ किलो (पूरा) तौलकै ग्यास सिलिन्डर बिक्री गर्ने छन् ।

ग्यास विक्रेता महासंघ अध्यक्ष ज्ञानेश्वर अर्यालले डिजेलको मूल्यमा भएको अप्रत्याशित वृद्धिका कारण ढुवानी खर्च धान्न नसकिने अवस्था आएपछि व्यवसायीहरू बाध्य भएर पूरा तौलकै ग्यास सिलिन्डर वितरण गर्नुपर्ने अवस्थामा पुगेको बताए ।

अध्यक्ष अर्यालले यसअघि आधा सिलिन्डर (७.१ किलो) मात्रै वितरण गर्ने सरकारी निर्णयबाट व्यवसायी र उपभोक्ता दुवैलाई मार परेको जानकारी दिए ।

अध्यक्ष अर्यालले नेपाल आयल निगमको अदूरदर्शी नीतिका कारण आगामी दुई महिनाभित्र नेपालमा ग्यासको चरम अभाव हुन सक्ने चेतावनी समेत दिएका छन् ।

नेपाल एलपी ग्यास उद्योग संघका अनुसार अहिले उद्योगका सबै बुलेट ग्यासले भरिभराउ छन् र बजारमा पूर्णक्षमताको सिलिन्डर पठाउन कुनै समस्या छैन ।

आधा सिलिन्डर मात्र बेच्न पाइने नियमले गर्दा मौज्दात (स्टक) मा रहेको ग्याससमेत बिक्री गर्न कठिन भइरहेको उद्योगीको भनाइ छ ।

आधा तौलका धेरै सिलिन्डर उपभोक्ताको घरमा थन्किएपछि भारतबाट आएका ग्यास बुलेट उद्योगमा अनलोड हुन नसकेको उद्योगीले बताउँदै आएका छन् ।

हाल ७.१ किलोका सिलिन्डर मात्रै बजार पठाउँदा र ग्यासका बुलेट समयमै अनलोड नगर्दा सबै बुलेट जाम भएर बसेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार