विभागले भन्यो– ई–७ भिसामा कोरिया जान पूर्व स्वीकृति दिने कार्य सुरु भएको छैन

वैदेशिक रोजगार विभागले हालै केही व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत ‘ई–७ भिसामा दक्षिण कोरिया पठाइदिन्छु’ भन्दै गैरकानूनी रुपमा रकम असुली गर्ने गतिविधि बढेको भन्दै श्रमिकलाई सचेत रहन आग्रह गरेको छ ।

विभागले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै हालसम्म कुनै पनि संस्था वा व्यक्तिलाई आधिकारिक रुपमा ई–७ भिसा प्रक्रिया सञ्चालन गर्ने स्वीकृति नदिइएको स्पष्ट पारेको छ । विभागका अनुसार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट स्वीकृत ‘गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने कार्यविधि, २०८०’ संशोधनसहित अन्तिमरुपमा २०८२ साउन १३ गते पारित भइसकेको छ र यसलाई कार्यान्वयन गर्ने प्रक्रिया सुरु गरिएको छ।

तर, विज्ञप्तिमा हालसम्म कार्यविधिअनुसार मागपत्र प्रमाणीकरणका लागि कोरियास्थित नेपाली राजदूतावासमा कुनै पनि आवेदन प्राप्त नभएको जानकारी आएको उल्लेख गरिएको छ । तसर्थ अनधिकृत रुपमा ई–७ भिसामा कोरिया पठाउछु भनि कसैले प्रलोभनमा पारी रकम मागेमा वा आश्वासन दिएमा भ्रममा नपरी सचेत रहन विभागले आग्रह गरेको छ ।

विभागले हालसम्म आधिकारिक रुपमा ई–७ भिसामा कोरियाका कामदार पठाउने प्रक्रिया स्वरुप कुनै पनि संस्थालाई पूर्व स्वीकृति दिने कार्य सुरु नभएको स्पष्ट पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार